आर्थिक अनुशासनका मूलभूत तत्वहरू के के हुन् ? लेख्नुहोस् ।
सार्वजनिक आय–व्ययका सम्पूर्ण कार्यमा मितव्ययिता, जवाफदेहिता र पारदर्शिता कायम गर्नु आर्थिक अनुशासन हो । आर्थिक अनुशासन कायम गर्न सहयोग गर्ने यी र यस्तै विषय आर्थिक अनुशासनका मूलभूत तत्व हुन् । जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ :
क. कार्य विभाजन र सन्तुलन
– सार्वजनिक आय व्ययको आर्थिक प्रशासनको निकासा र खर्चको लेखाको कार्य लेखा प्रमुख, जिन्सी स्रेस्ताको कार्य जिन्सी प्रमुख र त्यसको स्वीकृति तथा नियन्त्रणको कार्य कार्यालय प्रमुखले गर्नुपर्ने व्यवस्था गरी एक आपसमा कार्य विभाजन र सन्तुलनको व्यवस्था गर्नुपर्छ ।
ख. आन्तरिक नियन्त्रण
– कार्यालय प्रमुखले कार्यालयको समग्र आर्थिक पक्षको नियन्त्रण गर्नुपर्छ । यसका लागि प्रतिवेदन माग गर्ने, प्रतिवेदन अध्ययन गरी निर्देशन दिने, निरीक्षण गर्ने, समन्वय गर्ने, अनुगमन गर्ने, भौतिक परीक्षण गर्नेलगायतका कार्य गर्न सकिन्छ ।
ग. लेखाङ्कन र प्रतिवेदन
– आर्थिक कारोबारको आम्दानी, निकासा एवं खर्चको व्यवस्थित अभिलेख राखी सोही आधारमा यथार्थ प्रतिवेदन तयार गरी समयमा नै सम्बन्धित निकायमा पेस गर्नुपर्छ ।
घ. लेखापरीक्षण
– सार्वजनिक आय र व्ययको जाँच तथा मूल्याङ्कन गरी सम्बन्धित निकायमा प्रतिवेदन पेस गर्ने कार्य लेखापरीक्षण हो । आर्थिक कारोबारको मासिक चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण तथा आर्थिक वर्ष समाप्त भएपछि अन्तिम लेखापरीक्षण गराएर अनुशासन कायम गर्नुपर्छ । लेखापरीक्षणले आर्थिक कारोबारमा गल्ती तथा छलकपट भए नभएको यकिन गरी विश्वास अभिवृद्धि गर्न मद्दत गर्छ ।
ङ. बेरुजु फस्र्योट
– आर्थिक कारोबारको लेखापरीक्षणपश्चात् देखिने कानुनविपरीत खर्च गरेको अनियमित रकम बेरुजु हो । सर्वप्रथम यस्तो बेरुजु हुन नदिने र भएको बेरुजुलाई कानुनको दायरामा ल्याएर हटाउनुपर्छ । पेश्की बेरुजु, अनियमित बेरुजु तथा असुलउपर गर्नुपर्ने बेरुजु सबैको फस्र्योट गरी अनुशासन कायम गर्नुपर्छ ।
च. मितव्ययिता
– कार्य सम्पादन गर्दा कार्यको गुणस्तरसहित कम खर्चमा कार्य गर्नुपर्छ । तोकिएको समयभित्रै तोकिएको सङ्ख्यामा कार्य सम्पादन गर्नुपर्छ ।
छ. पारदर्शिता
– वित्तीय खर्चमा सरोकारवालाको समर्थन हुने गरी खर्च गर्नुपर्छ । कारोबारमा स्वच्छता कायम गर्नुपर्छ । खरिद कार्यमा प्रतिस्पर्धा, गुणस्तर कायम गर्नुपर्छ ।
ज. जवाफदेहिता
– आर्थिक कारोबारअन्तर्गत गरिएका सबै कार्य स्पष्ट हुनुपर्छ । कानुनी प्रावधान पूरा गरी सम्बन्धित निकाय तथा पदाधिकारीले उठाएका प्रश्नको उत्तर दिनुपर्छ ।
गोरखापत्रबाट
0 Comments