एकीकृत सम्पत्ति कर भनेको के हो ? यो कर लगाउने आधारहरू के के हुन् ? लेख्नुहोस् ।
व्यक्तिको स्वामित्वमा रहेका सम्पूर्ण घर र जग्गालाई एकीकृत रूपमा गणना गरी त्यसैमा कर लगाइने पद्धतिलाई एकीकृत सम्पत्ति कर भनिन्छ । यो घर तथा जग्गाजस्ता अचल सम्पत्तिमा लाग्ने कर हो । अचल सम्पत्तिमा लगानी प्रोत्साहित गर्ने वा निरुत्साहित गर्ने भन्ने उद्देश्य राखेर यो करको दर निर्धारण गर्ने गरिन्छ । यसमा सम्पूर्ण अचल सम्पत्तिको एकीकृत मूल्याङ्कन गरी तोकिएको रकमसम्ममा एकीकृत सम्पत्ति कर छुट दिन पनि सकिन्छ । सामान्यतया अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साहित गर्दै उत्पादनशील क्षेत्रमा लगानी उत्प्रेरित गरी आय आर्जन तथा रोजगारी बढाउन अनुत्पादक क्षेत्रको अचल सम्पत्तिमा सम्पत्ति कर लगाउने गरिन्छ ।
एकीकृत सम्पत्ति कर लगाउने आधार
सामान्यतया जुनसुकै कर लगाउने आधार भनेको करदाताको कर तिर्न सक्ने क्षमता हो । कर तिर्न नसक्नेलाई करको भार लगाउन हुँदैन भन्ने सिद्धान्तमा आधारित भई कर लगाएमा कर असुलीमा थप प्रभावकारिता आउँछ र करको उत्पादनशीलता झन् बढ्न गई करले करको आधार अझ विस्तार गर्दै जान्छ । यो मान्यता एकीकृत सम्पत्ति करमा पनि लागू हुन्छ । एकीकृत सम्पत्ति कर लगाउने अरू आधार निम्न छन्ः
– घर तथा जग्गाको आकार, प्रकार, बनोट,
– नागरिकको जीवनस्तर एवं आर्थिक अवस्था,
– अचल सम्पत्ति उपयोग गरे नगरेको अवस्था,
– अचल सम्पत्तिको प्रचलित बजार मूल्य,
– अचल सम्पत्तिको ह्रास मूल्य,
– राजस्वको आवश्यकता ।
साभारः गोरखापत्र
0 Comments