लघुवित्त वित्तीय संस्थाले र्सवसाधारणबाट निक्षेप संकलन गर्न सक्छन ?
लघुवित्त वित्तीय संस्थाले आफ्नो सदस्य वाहेकका व्यक्तिहरूबाट बचत निक्षेप संकलन गर्न पाउंदैनन । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. र छिमेक लघुवित्त वित्तीय संस्था लि. का सीमित केही शाखाहरूबाट मात्र र्सवसाधारणबाट निक्षेप संकलन गर्न स्वीकृति प्रदान गरिएको छ ।
लघुवित्त वित्तीय संस्था कति प्रकारका छन् र के काम गर्दछन् ?
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई कर्जा कारोबारको आधारमा थोक कर्जाको मात्र कारोबार गर्ने र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्था गरी २ प्रकारमा वर्गीकरण गर्न सकिन्छ । खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूले मात्र विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई कर्जा प्रवाह गर्ने गर्दछन ।
साथै, लघुवित्त वित्तीय संस्थाहरूले विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाएर तिनीहरूबाट नियमित रुपमा बचत संकलन गरेको रकम र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट विपन्न वर्ग शीर्षकमा सापटी लिएर आफ्ना सदस्यहरूलाई सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा तथा स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने कार्य गर्दछन् ।
लघुवित्त वित्तीय संस्थाले कर्जामा ब्याजदर र सेवा शुल्क कति लिन्छ ?
लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट समय समयमा जारी गरिएको ब्याजदर र सेवा शुल्क सम्बन्धी परिपत्रले तोके बमोजिमको ब्याजदर र सेवा शुल्क लिनुपर्ने हुन्छ । पछिल्लो परिपत्र अनुसार लघुवित्त वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा बढीमा १५ प्रतिशत ब्याजदर र १.५० प्रतिशतसम्म सेवा शुल्क लिन सक्ने व्यवस्था रहेको छ।
लघुवित्त वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको सीमा कति हुन्छ ?
लघुवित्त वित्तीय संस्थाले सदस्यहरूको समूह जमानीमा प्रति सदस्य बढीमा रु.३ लाख (विगत २ वर्षदेखि कर्जा उपभेाग गरी असल वर्गमा परेका सदस्यको हकमा बढीमा रु.५ लाख) को विना धितो लघु कर्जा र व्यवसायिक परियोजनाको लागि स्वीकारयोग्य धितो लिई तोकिएको कृषि, लघु उद्यम तथा व्यवसाय गर्ने विपन्न तथा न्यून आय भएका व्यक्ति, फर्म वा समूहलाई बढीमा रु. ७ लाख र विगत २ वर्षदेखि कर्जा उपभेाग गरी असल वर्गमा परेका व्यक्तिको हकमा बढीमा रु.१५ लाखसम्म धितो कर्जा प्रवाह गर्न सक्छ।
लघुवित्त वित्तीय संस्थाको नियमन तथा सुपरिवेक्षण कसले गर्छ ?
लघुवित्त वित्तीय संस्थाहरूको नियमन तथा सुपरिवेक्षण नेपाल राष्ट्र बैंकले नै गर्दछ ।
लघुवित्त वित्तीय संस्था भन्नाले के बुझिन्छ ?
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति, खासगरी महिलाहरूलाई सदस्य बनाई तिनीहरूबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न निश्चित सीमासम्म धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरूको बचत संकलन गर्ने संस्थालाई लघुवित्त वित्तीय संस्था भनिन्छ ।
कुनै बैंक वा वित्तीय संस्थासँग सम्बन्धित सूचना लिन वा दिन कहाँ सम्पर्क गर्ने ?
कुनै बैंक वा वित्तीय संस्थासंग सम्बन्धित कुनै पनि प्रकारको सूचना लिन वा दिन सो बैंक वा वित्तीय संस्थाको आफ्नो वेवर्साईटमा उल्लेख भएको सूचना अधिकारीसंग सम्पर्क गर्नुपर्छ ।
कर्जा सूचना केन्द्रले कसरी कर्जा सूचना सम्बन्धी विवरण तयार गर्दछ ?
कुनै पनि बैंक वा वित्तीय संस्थाले आफुले स्वीकृत गरेको सम्पूर्ण कर्जा/सुविधाको विवरण, ९० दिन भन्दा बढी अवधिले भाखा नाघेका सम्पुर्ण कर्जा/सुविधाको विवरण र दश लाख रुपैयाँ वा सो भन्दा बढीको कर्जा रकम कालोसूचीमा राख्न तोकिएको अवधिभित्र कर्जा सूचना केन्द्रलाई जानकारी गराउनु पर्ने व्यवस्था छ । सो बमोजिम बैंक तथा वित्तीय संस्थाहरुले कर्जा सूचना केन्द्रलार्इ उपलब्ध गराएको विवरण कै आधारमा सो केन्द्रले अन्य कुनै पनि बैंक वा वित्तीय संस्थाले माग गरेको कर्जा सूचना तयार गरी उपलब्ध गराउँछ । लघुवित वित्तीय संस्थाहरुको हकमा भने रु. ५ लाख वा सो भन्दा बढीको कर्जा रकम भएका ऋणीहरुलाई कालोसूचीमा राख्न पठाउने व्यवस्था छ । नियतवश कर्जा नतिर्ने ऋणीलाई भने जतिसुकै परिमाणको ऋण भए पनि कालोसूचीमा राख्न सकिन्छ ।
कस्तो अवस्थामा कर्जा सूचना लिइन्छ ?
कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कुनै पनि ग्राहकलाई कर्जा प्रवाह, पुरानो कर्जा नवीकरण, कर्जाको पुनरसंरचना वा पुनरतालिकीकरण गर्नु अघि सो ग्राहकको कर्जा सूचना कर्जा सूचना केन्द्रबाट अनिवार्य रुपमा लिनु पर्दछ ।
कर्जा सूचना भनेको के हो?
बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कुनै पनि ग्राहक (व्यक्ति, फर्म, कम्पनी वा संस्था) ले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा तथा सोको अवस्थाको बारेमा कम्पनी ऐन बमोजिम स्थापित कर्जा सूचना केन्द्रबाट लिने विवरण नै कर्जा सूचना हो ।
वित्तीय स्वार्थ भन्नाले के बुझिन्छ ?
बैंक वा वित्तीय संस्थाको सञ्चालक, एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको शेयरधनी वा कार्यकारी प्रमुख वा त्यस्तो व्यक्तिको परिवार वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, कम्पनी वा संगठित संस्थाले कुनै फर्म, कम्पनी वा संगठित संस्थाको चुक्तापूँजीको दश प्रतिशत वा सोभन्दा बढी हुने गरी छुट्टाछुट्टै वा संयुक्त रुपमा शेयर खरिद गरेमा त्यस्तो व्यक्ति वा व्यक्तिहरुको दश प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व रहेको संस्थामा रहेको निजहरुको स्वार्थ भन्ने बुझिन्छ ।
0 Comments