Header Ads Widget

6/recent/ticker-posts

Major Banking Terms (मुख्य बैंकिङ प्रश्नोत्तरी)

 १.      वित्तीय साक्षरता भनेको के हो ?

वित्तीय साक्षरतालाई सामान्यतया व्यक्तिहरूले वित्तीय स्रोतसाधनलाई आफ्नो भलाइको लागि प्रभावकारी  रूपमा  प्रयोग  गर्न  हासिल  गर्ने  ज्ञान  तथा  शिपको  रूपमा  परिभाषित  गरेको  पाइन्छ  ।  यसले  वित्तीय  सेवा  उपलब्ध  गराउनेहरूलाई  समेत  उनीहरूको  सेवा  वा  उत्पादनहरूको  (प्रोडक्ट) बारेमा राम्ररी बुझ्न, उक्त उत्पादनसँग जोडिएको जोखिमको घनत्व एवम् गहिराइको पहिचान गर्न र  त्यसलाई  व्यवस्थापन  गर्न  तथा  उनीहरूका  ग्राहक  (उपभोक्ता)  को  वास्तविक  आवश्यकतालाई पहिचान गरी आफ्ना उत्पादनहरूलाई परिमार्जन गर्न सहयोग पुर्याउँछ । वित्तीय साक्षरताले समग्र वित्तीय प्रणालीमा विश्वासको अभिवृद्धि गर्दछ र सहभागितामा वृद्धि गर्न मद्दत गर्दछ ।


२.      अनलाईन बोलकबोल प्रणाली (Online Bidding System) के हो ?

बोलकबोल प्रक्रियाबाट निष्काशन हुने सरकारी ऋणपत्र (ट्रेजरी बिल तथा विकास ऋणपत्र) तथा मौद्रिक व्यवस्थापनका उपकरणहरू (रिपो, रिभर्स रिपो, सोझै बिक्री, सोझै खरिद, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्र) को बोलकबोल हुने इलेक्ट्रोनिक माध्यम नै अनलाइन बोलकबोल प्रणाली हो ।


३.      तरलता प्रवाह र प्रशोचन गर्न कुन कुन उपकरणहरू छन् ?

तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गरिन्छ भने तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गरिन्छ ।


४.      नेपाल राष्ट्र बैंकले गर्ने रिभर्स रिपो भन्नाले के बुझिन्छ ?

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रशोचन (Mop up) गर्न प्रयोग हुने उपकरण “रिभर्स रिपो” हो ।


५.      नेपाल राष्ट्र बैंकले गर्ने रिपो भन्नाले के बुझिन्छ ?

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो ।


६.      तरलता प्रवाह र प्रशोचन गर्न कुन कुन उपकरणहरू छन् ?

तरलता प्रवाहको निम्ति रिपो र सोझै खरिद उपकरणको प्रयोग गरिन्छ भने तरलता प्रशोचनको लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गरिन्छ ।


७.      मुद्रा बजार -Money Market_ भनेको के हो ?

सामान्यतः एक वर्षभत्र परिपक्व हुने उपकरणहरू खरिद बिक्री हुने बजारलाई मुद्रा बजार (Money Market) भनिन्छ । मुद्रा बजारले छोटो अवधिको लगानीको अवसर प्रदान गर्दछ । मुद्रा बजारका उपकरणहरू अल्पकालीन तरलता प्राप्त गर्न प्रयोग गरिन्छ ।


८.      बैकदर भनेको के हो ?

सरकारी धितोपत्रहरूको सुरक्षणमा केन्द्रीय बैंकले बैक तथा वित्तीय संस्थालाई अन्तिम ऋणदाता सुविधाको रुपमा प्रदान गरिने ऋणमा लिने ब्याजदरलाई बैंकदर भनिन्छ ।


९.      नेपालमा खुला बजार कारोबार कसले र कुन आधारमा सञ्चालन गर्दछ ?

नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभाग अन्तर्गत रहेको “खुला बजार कारोबार सञ्चालन समिति” ले मौद्रिक नीतिका उद्देश्यहरू प्राप्त गर्न नियमित, आकस्मिक एवम् संरचनात्मक प्रकृतिको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागले तयार गर्ने तरलता अनुगमन तथा प्रक्षेपण संरचना सम्बन्धी प्रतिवेदन तथा निक्षेप एवम् कर्जाको विस्तार, अन्तर बैंक ब्याजदर, विदेशी विनिमयको प्रवाह लगायतका वित्तीय सूचकका आधारमा आवश्यकता अनुसार खुला बजार कारोबार सञ्चालन गर्दछ ।


१०.  खुला बजार कारोबार भनेको के हो ?

बजारमा तरलता व्यवस्थापन गर्ने र व्याजदरलाई प्रभाव पार्ने उद्देश्यका साथ केन्द्रीय बैंकले छोटो अवधिका सरकारी ऋणपत्रहरू खुला बजारमा खरिद बिक्री गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ । खुला बजारमा केन्द्रीय बैंकले ऋणपत्र खरीद गर्दा बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंकबाट नगद प्राप्त गर्ने भएकोले बजारमा मुद्राको आपूर्ति बढ्दछ र ब्याजदर कम हुन जान्छ । त्यस्तै, खुला बजारमा ऋणपत्र विक्री गर्दा बैंक तथा वित्तीय संस्थासँग भएको अधिक तरतला प्रशोचन हुन गई बजारमा मुद्राको आपूर्ति कम हुन जान्छ र व्याजदर बढ्दछ ।


११.  नेपाल सरकारको ऋणपत्रहरूको दोस्रो बजार कारोबार कसरी गरिन्छ ?

नेपाल सरकारको ऋणपत्रहरूको दोस्रो बजार कारोबार निम्नानुसार गरिन्छ ।

(क) ट्रेजरी बिलः प्रमिसरी नोट सरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक-आपसमा दरपीठ गरी खरिद बिक्री गरी दोस्रो बजार कारोबार गरिन्छ । तर, त्यस्तो कारोबारको जानकारी राष्ट्र ऋण व्यवस्थापन विभागलाई दिनु पर्दछ ।

(ख) विकास ऋणपत्रः विकास ऋणपत्रको दोस्रोबजार कारोबार नेपाल धितोपत्र विनिमय बजार लिमिटेड (NEPSE) मार्फत मात्र हुने व्यवस्था रहेको छ ।

(ग) नागरिक बचतपत्रः नागरिक बचतपत्रको दोस्रो बजार कारोबार देशभरका बजार निर्माताका साथै नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरू मार्फत गर्न सकिन्छ ।

(घ) वैदेशिक रोजगार बचतपत्र नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालय वा बजार निर्माताका कार्यालयहरू मार्फत दोस्रो बजार कारोबार गर्न अर्थात् आफूसँग रहेको बचतपत्र बिक्री गर्न सकिन्छ ।


१२.  सरकारी ऋणपत्र धारण गर्दा कस्ता जोखिम हुन्छन् ?

सरकारी ऋणपत्रलाई जोखिममुक्त ऋणपत्र मानिन्छ ।सार्वभौमसत्ता सम्पन्न सरकारले नै यसको सावाँ र ब्याज निर्धारित गरेको मितिमा तिर्ने प्रत्याभूति दिएको हुनाले यसलाई जोखिम रहित मानिएको हो ।


सरकारी ऋणपत्रहरूमा लगानी गर्दा के फाइदा हुन्छ ?

सरकारी ऋणपत्रहरू सार्वभौम सरकारको तर्फबाट जारी हुने हुँदा लगानी डुब्ने डर नहुने, निश्चित समयमा ब्याज प्राप्त हुने, तत्काल नगद आवश्यकता परेमा दोस्रो बजारमा सजिलैसँग बिक्री गर्न सकिने, जमानतको रुपमा प्रयोग गरी बैंक तथा वित्तीय संस्थाबाट सजिलै कर्जा प्राप्त हुने र तुलनात्मक रुपमा अन्य उपकरणहरूको तुलनामा ब्याज आम्दानी बढी हुने हुनाले ब्यक्ति वा संस्थाले सरकारी ऋणपत्रहरूमा लगानी गर्दछन् ।


१३.  सरकारी ऋणपत्रहरू कसरी जारी गरिन्छ ?

सरकारी ऋणपत्रहरू नेपाल राष्ट्र बैंकद्वारा संचालित बोलकबोल प्रक्रिया मार्फत जारी गरिन्छ । बोलकबोल अनलाईन बोलकबोल प्रणाली मार्फत सञ्चालन गरिन्छ । विभिन्न ऋणपत्रको निष्काशन र बोलकबोलमा प्रयोग गरिने विधि निम्नानुसार रहेको छ ।

(क) ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्काशन हुने गर्दछ । बोलकबोलमा बहु-बोलमूल्य विधि (American Auction System) प्रयोग गरिन्छ ।

(ख) विकास ऋणपत्र बोलकबोलको माध्यमबाट निष्काशन हुने गर्दछ भने बोलकबोलमा एकल ब्याजदर विधि (Dutch Auction System) प्रयोग गरिन्छ ।

(ग) नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला, बिक्री बन्द र निष्काशन “खुला बजार सञ्चालन समिति” ले तोकिदिएको मितिमा गर्ने गरिन्छ । सो सम्बन्धी जानकारी पत्रपत्रिका तथा यस बैंकको वेबसाइटमा प्रकाशित गरिन्छ । यी ऋणपत्रहरूको अवधि र यसमा पाइने निश्चित ब्याज दर नेपाल सरकारले तोकिदिए बमोजिम हुने गर्दछ ।


१४.  वैदेशिक रोजगार बचतपत्र भनेको के हो ?

मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल सरकारले निश्चित ब्याजदर सामान्यतः अन्य बचतपत्रको भन्दा केही बढी) तोकी नेपाली रूपैंयाँमा जारी गरिएको मध्यमकालीन अवधिको बचतपत्र “वैदेशिक रोजगार बचतपत्र” हो । यो बचतपत्रको अवधि ५ वर्षको छ ।


१५.  नागरिक बचतपत्र भनेको के हो ?

नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएको नागरिक बचतपत्र ५ वर्षअवधिको रहेको छ ।


१६.  विकास ऋणपत्र भनेको के हो?

विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् ।


१७.  ट्रेजरी बिल भनेको के हो ?

ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।


१८.  नेपाल राष्ट्र बैंकले जारी गर्ने सरकारी ऋणपत्रहरू कति प्रकारका छन् ? ती के के हुन् ?

नेपाल राष्ट्र बैंकले जारी गर्ने सरकारी ऋणपत्रहरू मुख्यतया ४ प्रकारका छन् । ती ऋणपत्रहरूः ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र हुन् ।


१९.  सरकारी ऋणपत्र भनेको के हो ?

सरकारी ऋणपत्र बजारयोग्य उपकरण हो जसमा लगानीकर्ताले ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित ब्याज प्राप्त हुने गरी लगानी गर्दछन् । देश विकासका लागिसरकारी खर्च गर्न आवश्यक साधन जुटाउन सरकारले विभिन्न किसिमको ऋणपत्रहरु जारी गर्ने गर्दछ ।


२०.  ऋणपत्र भनेको के हो ?

ऋणपत्र एक प्रकारको वित्तीय उपकरण हो जसमा लगानीकर्ताले उक्त ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित समय पश्चात् सावाँ तथा ब्याज प्राप्त गर्दछन् ।


२१.  तलब तथा ज्यालादर सूचकाङ्क भनेको के हो ?

तलब तथा ज्यालादर सूचकाङ्कले तलब तथा ज्यालादरको सामान्य मूल्य स्तरलाई मापन गर्दछ । यस बैंकले २०६१/६२ लाई आधार वर्ष मानी तलब तथा ज्यालादर सूचकाङ्क प्रकाशन गर्दै आएको छ । छ क्षेत्रका सरकारी तथा निजी संस्थामा कार्यरत अधिकृत र गैर-अधिकृत कर्मचारीहरूको तलब विवरणका आधारमा तलव उप-सूचकाङ्क र तीन क्षेत्रबाट लिङ्ग र सीपका आधारमा ज्यालादर विवरण संकलन गरी ज्यालादर उप-सूचकाङ्क तयार गरिन्छ । यी उप-सूचकाङ्कहरूको भार क्रमशः २६.९७ प्रतिशत र ७३.०३ प्रतिशत रहेको छ ।


२२.  थोक मूल्य सूचकाङ्क भनेको के हो ?

थोक मूल्य सूचकाङ्कले वस्तुहरूको थोक मूल्यस्तरलाई मापन गर्दछ । हाल नेपालले आर्थिक वर्ष २०७४/७५ लाई आधार वर्षमानी २६२ वस्तुहरूको पाक्षिक, मासिक र त्रैमासिकरुपमा मूल्य संकलन गरी यी वस्तुहरूको थोक मूल्य गणना गर्ने गरेको छ । यी वस्तुहरूमध्ये प्राथमिक समूह अर्न्तर्गत २ उपसमूह, इन्धन तथा ऊर्जा समूह अन्तर्गत २ उपसमूह र उत्पादन समूह अन्तर्गत १३ उपसमूह रहेका छन् । यी समूहहरूको भाराङ्क क्रमशः ३३.५९ प्रतिशत, ८.७६ प्रतिशत र ५७.६५ प्रतिशत रहेको छ ।


२३.  नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको मूल्य सूचकाङ्क (मूल्यवृद्धि दर) र आम जनताले महसुस गरेको मूल्यवृद्धि बीच किन समानता पाइन्न ?

नेपाल राष्ट्र बैंकले प्रकाशन गर्ने मूल्य सूची तोकिएका वस्तु डालोमा संलग्न वस्तुहरूको भारित मूल्य सूचकाङ्कमा आधारित हुन्छ । यस्ता वस्तुहरूलाई विभिन्न समूहमा विभाजन गरेर भार प्रदान गरिन्छ । कुनै वस्तुको मूल्य धेरैले वृद्धि भएतापनि अर्को वस्तुको मूल्य धेरैले कम हुन जाँदा औसत भारित मूल्यमा सामान्य मात्र परिवर्तन भएको हुन सक्छ । तर आम जनताले वस्तु खरीदगर्न जाँदा आफूले खरीद गर्ने वस्तुको मात्र धेरैले मूल्य वृद्घि भएको वा घटेको महसुस गर्ने हुनाले नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको मूल्य सूचकाङ्क (मूल्यवृद्धि दर) र आम जनताले महसुस गरेको मूल्यवृद्धि (दर) बीच समानता नहुन सक्दछ ।


२४.  उपभोक्ता मूल्य सूचकाङ्क भनेको के हो ?

उपभोक्ता मूल्य सूचकाङ्कले उपभोग्य वस्तु तथा सेवाहरूको खुद्रा मूल्यस्तरलाई मापन गर्दछ । उपभोक्ता मुद्रास्फीति मापन गर्न हाल उपभोक्ता डालोमा ४९६ वस्तु तथा सेवाहरू समावेश गरिएका छन् । ६० बजार केन्द्रहरूबाट यी वस्तु तथा सेवाहरूको साप्ताहिक, मासिक र त्रैमासिकरुपमा मूल्य संकलन गरी उपभोक्ता मूल्य सूचकाङ्क तयार गर्ने गरिन्छ । आर्थिक वर्ष २०७१/७२ को आधार मूल्यको आधारमा यी वस्तुहरूको मुद्रास्फीति मापन गरिन्छ । यी वस्तुहरूमध्ये खाद्य तथा पेय पदार्थ समूह अर्न्तर्गत १३ उपसमूह र गैर?खाद्य तथा सेवा समूह अर्न्तर्गत ९ उपसमूह रहेका छन् । उक्त समूहहरूको भाराङ्क क्रमशः ४३.९१ प्रतिशत र ५६.०९ प्रतिशत रहेको छ ।


२५.  निर्यात र आयात मूल्य सूचकाङ्क भन्नाले के बुझिन्छ ?

निश्चित समयावधिमा निर्यात र आयात गरिएका वस्तुहरूको इकाई मूल्यलाई निर्यात र आयात मूल्य सूचकाङ्कले मापन गर्दछ । निर्यात-आयात मूल्य सूचकाङ्क अनुपातलाई व्यापारको शर्त (Terms of Trade) पनि भनिन्छ । निर्यात-आयात मूल्य सूचकाङ्क अनुपात बढेमा निर्यात गर्ने मुलुकका लागि अन्तराष्ट्रिय व्यापारको शर्त अनुकूल भएको मानिन्छ । नेपाल राष्ट्र बैंकले निर्यात आयात मूल्य सूचकाङ्क मासिक रुपमा प्रकाशन गर्दै आएको छ ।


२६.  शोधनान्तर स्थिति भन्नाले के बुझिन्छ ?

निश्चित समयावधिभित्र आवासीय र गैर-आवासीय व्यक्ति/संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारहरूको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा वाहृय क्षेत्र कारोबारबाट तरलताको प्रवाह र घाटा भएमा प्रशोचन हुन्छ । नेपाल राष्ट्र बैंकले चालु खाता एवम् समग्र शोधनान्तर स्थिति सम्बन्धी विवरण मासिक रुपमा प्रकाशन गर्ने गरेको छ ।


२७.  चालु खाता सन्तुलन भन्नाले के बुझिन्छ ?

निश्चित समयावधिभित्र आवासीय र गैर-आवासीय व्यक्ति/संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारहरूको सारांश नै चालु खाता सन्तुलन हो । चालु खाता घाटा वा बचतमा रहन सक्दछ । चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालु खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ ।


२८.  पुँजी खाता परिवर्त्यता भन्नाले के बुझिन्छ ?

शोधनान्तर खाता अर्न्तगत पुँजी तथा वित्तीय खातामा कारोबार गर्न पाउने सुविधालाई पुँजी खाता परिवर्त्यता भनिन्छ । नेपालले पुँजी खाता अर्न्तर्गतका कारोबारहरूलाई पूर्ण रुपमा परिवर्त्य गरेको छैन । अधिकांश क्षेत्रहरूमा प्रत्यक्ष वैदेशिक लगानीलाई प्रोत्साहन गरिएको छ भने वैदेशिक ऋण आप्रवाहलाई नियमन गरिएको छ । अर्कोतर्फ, छोटो समयका पुँजीगत आप्रवाह, रियल स्टेट लगानी, सरकारी ऋणपत्र तथा पुँजी बजारमा पोर्टफोलियो लगानी खुला गरिएको छैन ।


२९.  चालु खाता परिवर्त्यता भन्नाले के बुझिन्छ ?

वस्तु तथा सेवाको अन्तराष्ट्रिय कारोबार, आय तथा चालु ट्रान्सफर लगायतका चालु प्रकृतिका कारोबारको भुक्तानीका लागि स्वदेशी मुद्रालाई विदेशी मुद्रामा र विदेशी मुद्रालाई स्वदेशी मुद्रामा परिवर्तन गर्न सकिने सुविधालाई चालु खाता परिवर्त्यता भनिन्छ ।


३०.  वैधानिक तरलता अनुपात भनेको के हो ?

बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको केही प्रतिशत तरल सम्पत्ति राख्नुपर्ने गरी तोकिएको दायित्व नै वैधानिक तरलता अनुपात -Statutory Liquidity Ratio_ हो । हाल अनिवार्य नगद मौज्दात, सरकारी सुरक्षणपत्र तथा बैंकको ढुकुटीमा रहेको नगदसमेत गरी वाणिज्य बैंकले आफ्नो कुल निक्षेप दायित्वको १० प्रतिशत, विकास बैंकले ८ प्रतिशत र वित्त कम्पनीले ७ प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेको छ ।


३१.  अनिवार्य नगद अनुपात भनेको के हो ?

अनिवार्य नगद अनुपात (Cash Reserve Ratio) भनेको बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेप दायित्वको केही प्रतिशत नेपाल राष्ट्र बैंकमा अनिवार्य मौज्दात बापत राख्नु पर्ने रकम हो । हाल बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकमा आफ्नो कुल निक्षेप दायित्वको ३ प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था छ ।


३२.  निक्षेप संकलन बोलकबोल भनेको के हो ?

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न माध्यमहरूमध्ये निक्षेप संकलन बोलकबोल पनि एक माध्यम हो । यस अन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाहरुबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ ।


३३.  स्थायी तरलता सुविधा भनेको के हो ?

बैंक तथा वित्तीय संस्थाहरूको अनुरोधमा आकस्मिक तरलता व्यवस्थापनका लागि सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो ।


३४.  खुलाबजार कारोबारका उपकरणहरू के के रहेका छन् ?

खुलाबजार कारोबारका उपकरणहरू अर्न्तर्गत रिपो बोलकबोल, रिभर्स रिपो बोलकबोल, सोझै खरिद बोलकबोल, सोझै बिक्री बोल कबोल, निक्षेप संकलन बोलकबोल र नेपाल राष्ट्र बैंक ऋणपत्र रहेका छन् ।


३५.  खुला बजार कारोबार भनेको के हो र यसले कसरी काम गर्दछ ?

बजारमा तरलता व्यवस्थापन गर्ने र व्याजदरलाई प्रभाव पार्ने उद्देश्यका साथ केन्द्रीय बैंकले विशेषगरी अल्पकालीन अवधिका सरकारी ऋणपत्रहरू खुला बजारमा खरिद बिक्री गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ । मुद्रास्फीति र अर्थतन्त्रका अन्य परिसूचकहरुको अवस्था हेरी केन्द्रीय बैंकले खुला बजारमा ऋणपत्रहरू खरिद बिक्री गर्ने गर्दछ । खुला बजारमा केन्द्रीय बैंकले ऋणपत्र खरीद गर्दा बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंकबाट नगद प्राप्त गर्ने भएकाले बजारमा मुद्राको आपूर्ति बढ्दछ र ब्याजदर कम हुन जान्छ । त्यस्तै, खुला बजारमा केन्द्रीय बैंकले ऋणपत्र बिक्री गर्दा बैंक तथा वित्तीय संस्थासँग भएको अधिक तरतला प्रशोचन हुन गई बजारमा मुद्राको आपूर्ति कम हुन जान्छ र व्याजदर बढ्दछ ।


३६.  तरलता अनुगमन तथा प्रक्षेपण संरचना (Liquidity Monitoring and Forecasting Framework-LMFF) भनेको के हो ?

सरकारी वित्त स्थिति, विदेशी विनिमय कारोबार, खुला बजार कारोबार लगायतका विवरणहरूको आधारमा नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको तरलता अनुगमन तथा प्रक्षेपणका लागि प्रयोग गर्ने संरचना नै तरलता अनुगमन तथा प्रक्षेपण संरचना हो ।


३७.  ब्याजदर करिडोर भनेको के हो ?

दीर्घकालीन ब्याजदरमा स्थायित्व ल्याउनका लागि अल्पकालीन ब्याजदर अर्थात् अन्तर?बैंक ब्याजदरलाई निश्चित सीमा भित्र राख्न अपनाइएको विधि ब्याजदर करिडोर हो । यसले मौद्रिक नीतिको कार्यदिशालाई समेत इङ्गति गर्ने गर्दछ ।


३८.  आधार मुद्रा (Base Money) भनेको के हो ?

बैंक तथा वित्तीय संस्थाहरूभन्दा बाहिर रहेको मुद्रा, बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको मुद्रा, बैंक तथा वित्तीय संस्थाहरूको केन्द्रीय बैंकमा रहेको मौज्दात र केन्द्रीय बैंकमा रहेको अन्य निक्षेपको योग नै आधार मुद्रा हो ।


३९.  संकुचित मुद्राप्रदाय (M1) भनेको के हो?

संकुचित मुद्राप्रदाय भनेको चलनचल्तीमा रहेको मुद्रा तथा चल्ती निक्षेपको योग हो ।


४०.  विस्तृत मुद्राप्रदाय भनेको के हो ?

विस्तृत मुद्राप्रदाय (M2) भनेका संकुचित मुद्राप्रदाय (M1), बचत निक्षेप, कल निक्षेप, मुद्दती निक्षेप र मार्जिन निक्षेपको योगफल हो ।


४१.  नेपालको मौद्रिक नीतिका अन्तरिम र सञ्चालन लक्ष्य के के हुन ?

नेपालको मौद्रिक नीतिको अन्तरिम लक्ष्य विस्तृत मुद्राप्रदाय (M2) र सञ्चालन लक्ष्य अन्तर बैंक ब्याजदर (Interbank Rate) रहेको छ ।


४२.  नेपालको मौद्रिक नीतिका मुख्य उद्देश्यहरू के के हुन ?

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासका निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नु मौद्रिक नीतिका मुख्य उद्देश्यहरु हुन ।


४३.  वित्त नीति र मौद्रिक नीतिमा के फरक हुन्छ ?

सरकारको राजस्व, खर्च र ऋणसँग सम्बन्धित नीतिलाई वित्त नीति भनिन्छ । वित्त नीति सरकारको बजेटको रुपमा र्सार्वजनिक गर्ने गरिन्छ । मौद्रिक नीतिको मुख्य जोड आर्थिक स्थायित्व हुने गर्दछ र यसले मुद्रा प्रदाय र व्याजदरको व्यवस्थापन गर्ने काम गर्दछ ।


४४.  मौद्रिक नीति भनेको के हो?

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।


४५.  विदेशबाट SWIFT मार्फत नेपालमा कुनै बैंक वा वित्तीय संस्थामा रहेको खातामा पैसा पठाउँदा नेपाल राष्ट्र बैकको कुन खातामा पठाउनुपर्छ ?

नेपाल राष्ट्र बैंकमा सरकारी निकायहरूको खाता मात्र खोल्न सकिने भएकोले कुनै व्यक्तिको खातामा रकम जम्मा गर्न यस बैंकमा रहेको खातामा पठाउन मिल्दैन । जुन व्यक्तिको नाममा रकम जम्मा गर्नुपर्ने हो, सो व्यक्तिको खाता रहेको बैंक वा वित्तीय संस्थाको SWIFT कोडमा उक्त व्यक्तिको खातामा जम्मा हुने गरी रकम पठाउन सकिन्छ ।


४६.  नेपालमा सरकारी कारोबारका लागि के कस्तो व्यवस्था मिलाइएको छ ?

हाल नेपालमा सरकारी कारोबारको जिम्मा बाणिज्य बैंकहरूलाई दिइएको छ । बाणिज्य बैंकमार्फत सरकारी राजश्व संकलन हुने र खर्च हुने तथा सोको अन्तिम हिसाब मिलान यस बैंकको बैंकिङ विभाग तथा प्रदेशस्तरका कार्यालयबाट हुन्छ ।


४७.  नेपाल सरकारको खातामा धरौटी वा अन्य रकम जम्मा गर्न के गर्नुपर्छ ?

नेपाल सरकारको खातामा धरौटी वा अन्य रकम जम्मा गर्न र्सवप्रथम कुन खातामा के प्रयोजनका लागि कुन कार्यालयको नाममा त्यस्तो रकम जम्मा गर्नुपर्ने हो उक्त कार्यालयको कार्यालय कोड समेत यकिन गरी तोकिएको भौचरमा उल्लेखित सम्पूर्ण विवरणहरू भरी रकम जम्मा गर्न सकिन्छ ।

चेक क्लियरिङमार्फ् धरौटी जम्मा गर्दा माथि उल्लेखित विवरणका अतिरिक्त रकम जम्मा गर्न पठाउने कार्यालयको नाम उल्लेख गर्नुपर्ने तथा खाता सञ्चालन गर्ने कार्यालयले चेकको पछाडि छाप लगाई दरपीठ समेत गरेको हुनुपर्नेछ ।


४८.  बैंकिङ विभागबाट विदेशी मुद्रा सटही गर्न सकिन्छ ?

नेपाल सरकारका विभिन्न निकायका कर्मचारीहरूका लागि पासपोर्ट सुविधा वापत अमेरिकी डलर १५०० बराबरको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकको बैंकिङ विभागबाट सटही गर्न सकिन्छ । अत्यावश्यक अवस्थामा यस्तो सुविधा अन्य नेपाली नागरिकहरूलाई पनि प्रदान गर्न सकिन्छ । साथै, आफूसँग भएको विदेशी मुद्रा यस बैंकको बैंकिङ विभागबाट अमेरिकी डलर ३००० को सीमामा रही यस बैंकलाई समेत बिक्री गर्न सकिन्छ ।


४९.  नोटको सुरक्षा कसरी गर्न सकिन्छ ?

नोटको सुरक्षा गर्न नोटलाई सकभर वालेट वा पर्समा नपट्याइकन राख्ने, कुनै पनि प्रकारको रङ नलगाउने गर्नुपर्दछ । नोटमा जथाभावी लेख्नु हुँदैन । त्यस्तै, नोटमा केरमेट गर्ने, च्यात्ने, स्टिच गर्ने, टाँस गर्ने जस्ता नोटको क्षति हुने तथा आयु घट्ने कार्य गर्नुहुँदैन ।


५०.  नोट कोष भनेको के हो ?

“नोटकोष” भन्नाले नेपाल राष्ट्र बैंकले नेपालभर नेपाली रुपैयाँको सहज आपुर्तिको लागि खडा गरेको कोषलाई सम्झनु पर्छ । हाल नेपाल अधिराज्यभर नेपाल राष्ट्र बैंकको ८, राष्ट्रिय वाणिज्य बैंकको ४५, र नेपाल बैंक लिमिटेडको २६ गरी जम्मा ७९ नोट कोषहरू रहेका छन् । यस्तो नोटकोष सामान्यतयाः जिल्ला सदरमुकाममा अवस्थित सरकारी कारोबार गर्ने बैंकमा रहेको हुन्छ ।


५१.  जाली नोटको पहिचान कसरी गर्न सकिन्छ ?

नोटमा रहेका आँखाले देख्न सकिने केही विशेषताहरूको बारेमा पहिचान गरेर नोट सक्कली हो कि नक्कली भनेर छुट्याउन सकिन्छ । जस्तैः सक्कली नोटमा पानी छाप हुने गर्दछ जसलाई उज्यालोमा राखेर हेर्दा लालिगुराँस फूलको आकृति स्पष्ट रुपमा देखिन्छ । नक्कली नोटमा यस्तो पानी छाप स्पष्ट रुपमा देखिंदैन । सक्कली नोटमा सुरक्षण धागो हुन्छ जसलाई उज्यालोमा राखेर हेर्दा अंग्रेजीमा ल्च्द्य लेखिएको हुन्छ र जसले कुनै पनि अक्षर छोपेको हुँदैन । नक्कली नोटमा भएको यस्तो धागोमा अक्षर छोपेको हुन् सक्दछ । सक्कली नोटमा प्रयोग भएको कागज केही खस्रो हुन्छ र प्रिन्टको गुणस्तर पनि राम्रो हुन्छ । नक्कली नोटको कागज चिप्लो हुन्छ र प्रिन्टको गुणस्तर राम्रो हुँदैन । सक्कली नोटको रंग पानीमा भिज्दा पनि खुइलिंदैन तथा लत्पतिंदैन भने नक्कली नोट पानीमा भिज्दा रंग खुइलिन्छ तथा लत्पतिन्छ ।


५२.  RTGS प्रणाली भनेको के हो?

Real Time Gross Settlement (RTGS) प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर (Fund Transfer) गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो ।


५३.  RTGS प्रणालीबाट कारोबार गर्न के गर्नुपर्छ ?

RTGS प्रणालीबाट कारोबार गर्न आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा गई तोकिएको ढाँचामा रकम रकमान्तर सम्बन्धी आदेश सहितको विवरण खुलाई बुझाउनु पर्दछ । त्यसरी प्राप्त भएको रकमान्तर आदेश बैंक वा वित्तीय संस्थाले RTGS प्रणालीमा प्रविष्ट गरेपछि कारोबार सम्पन्न हुन्छ ।


५४.  हाल कुन-कुन संस्थाबाट RTGS कारोबार गर्न सकिन्छ ?

नेपाल राष्ट्र बैंकमा खाता खोलेका र यस प्रणालीमा प्रत्यक्ष आबद्ध भएका बैंक तथा वित्तीय संस्थाको कुनै पनि शाखाबाट RTGS कारोबार गर्न सकिन्छ । RTGS कारोबार गर्न सकिने बैंक तथा वित्तीय संस्थाको सूची यस बैंकको वेबसाइटमा हेर्न सकिन्छ ।


५५.  RTGS प्रणालीको सञ्चालन समयावधि के हो ?

आइतबारदेखि बिहीबारसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म सर्वसाधारण व्यक्ति तथा अन्तरबैंक दुवै प्रकारको RTGS कारोबार गर्न सकिने व्यवस्था रहेको छ भने दिउँसो ३:०० बजेदेखि ३:४० बजेसम्मको समय केवल अन्तरबैंक RTGS कारोबारको लागि छुट्याइएको छ । साथै, शुक्रबार बिहान १०:३० बजेदेखि दिउँसो १:०० बजेसम्म मात्र सर्वसाधारण तथा अन्तरबैंक दुवै प्रकारको RTGS कारोबार हुने व्यवस्था रहेको छ ।


५६.  RTGS प्रणाली मार्फत कारोबार गर्दा हुने फाइदाहरू के के हुन् ?

RTGS प्रणालीबाट कारोबार गर्दा सेटलमेन्ट जोखिम न्यूनीकरण हुने, कारोबारको विवरण RTGS प्रणालीमा तत्काल देखिने भएकोले सुरक्षित र विश्वसनीय हुने, कारोबारको भुक्तानी तत्कालै हुने भएकोले व्यवसायिक गतिविधि बढ्ने, कुनै पनि कारोबारको भुक्तानी तत्कालै सम्पन्न हुने भएकोले आर्थिक गतिविधिमा तीव्रता आउँछ ।


५७.  वालेट भनेको के हो ?

वालेट भनेको नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भुक्तानी सेवा प्रदायकले आफ्ना ग्राहकहरूको नाममा जारी गर्ने विद्युतीय खाता हो । वालेट धारकले तोकिएको बैंक तथा वित्तीय संस्था अथवा एजेन्टबाट वालेटमा रकम स्थानान्तरण गरी वस्तु तथा सेवा खरीद वापत रकम भुक्तानी गर्न सक्दछन् ।


५८.  प्रिपेड कार्ड भनेको के हो ?

प्रिपेड कार्ड भनेको बैंकमा खाता रहेका ग्राहक अथवा खाता नभएको व्यक्ति दुबैले निश्चित रकम तिरी प्राप्त गर्न सकिने कार्ड हो । यस्तो कार्डबाट तोकिए बमोजिम नगद झिक्न तथा खरीद गर्दा भुक्तानी गर्न सकिन्छ ।


५९.  डेविट कार्ड भनेको के हो ?

डेविट कार्ड भनेको बैंक खातामा रहेको रकम झिक्न तथा भुक्तानी गर्न मिल्ने गरी ग्राहकको नाममा जारी भएको कार्ड हो ।


६०.  क्रेडिट कार्ड भनेको के हो ?

क्रेडिट कार्ड भनेको ग्राहकको बैंक खातामा पैसा नभएतापनि कार्ड बाट भुक्तानी गर्न सकिने सुविधा सहितको कार्ड हो । यस्तो कार्डमा कार्डबाट खर्च भएको रकम कार्डधारकले निश्चित समय पश्चात सम्बन्धित बैंक वा वित्तीय संस्थालाई तोकिएको शूल्क सहित बुझाउनु पर्दछ ।


६१.  नेपालमा कति किसिमका भुक्तानी कार्ड प्रचलित छन् ?

नेपालमा हाल ३ प्रकारका भुक्तानी कार्ड प्रचलित छन् । क्रेडिट कार्ड, डेविट कार्ड र प्रिपेड कार्ड ।


६२.  भुक्तानी सेवा प्रदायकले के काम गर्दछन् ?

भुक्तानी सेवा प्रदायक संस्थाले विद्युतीय भुक्तानी सम्बन्धी कारोबारमा ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दछन् । ती संस्थाले भुक्तानी सम्बन्धी कारोबार गर्न अनुमत्रि्राप्त संस्था र ग्राहक तथा सेवा प्रदायकको बीचमा वस्तु, सेवा, सम्पत्ति वा अन्य दायित्व वापतको रकम भुक्तानी गरिदिने, स्वदेश तथा विदेशमा रकम ट्रान्सफर गर्ने आदि विद्युतीय माध्यमबाट गरिने भुक्तानी कारोबार सञ्चालन गर्दछन् ।


६३.  भुक्तानी प्रणाली सञ्चालकले के काम गर्दछन् ?

भुक्तानी प्रणाली सञ्चालकले विद्युतीय भुक्तानी सम्बन्धी कार्यको सञ्चालन, व्यवस्थापन र समाशोधनको कार्य गर्दछन् । ती संस्थाले समाशोधन गृह, विद्युतीय कार्ड सञ्जाल सञ्चालन र अन्य विद्युतीय (अनलाइन) भुक्तानी सञ्जाल समेत सञ्चालन गर्दछन् ।


६४.  नेपालमा विद्युतीय भुक्तानी सम्बन्धी काम गर्ने संस्था कति प्रकारका छन् ?

नेपालमा विद्युतीय भुक्तानी सम्बन्धी काम गर्ने संस्थाहरू भुक्तानी प्रणाली सञ्चालक (Payment System Operator-PSO) र भुक्तानी सेवा प्रदायक (Payment Service Provider-PSP) गरी दुर्इ प्रकारका छन् ।


६५.  नेपालमा विदेशी लगानीको लागि सीमा कति तोकिएको छ ?

नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता रु. पाँच करोड तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन ।


६६.  विदेशी लगानीसँग सम्बन्धित मुख्य-मुख्य ऐन कुन कुन हुन् ?

विदेशी लगानीसँग सम्बन्धित मुख्य-मुख्य ऐनमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, र्सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, औद्योगिक व्यवसाय ऐन, २०७६, विदेशी विनिमय (नियमित) गर्ने ऐन, २०१९ रहेका छन् ।


६७.  नेपालको विनिमयदर प्रणाली कस्तो छ ?

नेपालको विनिमयदर प्रणाली Conventional Peg प्रकृतिको रहेको छ । नेपाली मुद्राको विनिमय दर भारतीय मुद्रासँग स्थिर रहेको छ भने नेपाली मुद्रा र परिवर्त्य विदेशी मुद्राबीचको विनिमय दर भारतीय मुद्रासँगको विनिमय दरको आधारमा निर्धारण हुन्छ ।


६८.  नेपालमा कति प्रकारका विदेशी मुद्रा खरिद बिक्री हुन्छन् ?

नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम हाल २१ प्रकारका विदेशी मुद्राहरु (भारतीय मुद्रा समेत) को खरिद बिक्री हुन्छ । उक्त विदेशी मुद्राहरु र ती मुद्राहरुको विनिमय दर सम्बन्धी जानकारी दैनिक रुपमा गोरखापत्र राष्ट्रिय दैनिक र नेपाल राष्ट्र बैंकको वेवसाइट मार्फत प्रकाशन हुन्छ । यस सम्बन्धी नेपाल राष्ट्र बैंकको वेवसाइटको लिङ्क देहाय बमोजिम रहेको छ । https://www.nrb.org.np/forex


६९.  लघुवित्त वित्तीय संस्थाले र्सवसाधारणबाट निक्षेप संकलन गर्न सक्छन ?

लघुवित्त वित्तीय संस्थाले आफ्नो सदस्य वाहेकका व्यक्तिहरूबाट बचत निक्षेप संकलन गर्न पाउंदैनन । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. र छिमेक लघुवित्त वित्तीय संस्था लि. का सीमित केही शाखाहरूबाट मात्र र्सवसाधारणबाट निक्षेप संकलन गर्न स्वीकृति प्रदान गरिएको छ ।


७०.  कर्जा सूचना केन्द्रले कसरी कर्जा सूचना सम्बन्धी विवरण तयार गर्दछ ?

कुनै पनि बैंक वा वित्तीय संस्थाले आफुले स्वीकृत गरेको सम्पूर्ण कर्जा/सुविधाको विवरण, ९० दिन भन्दा बढी अवधिले भाखा नाघेका सम्पुर्ण कर्जा/सुविधाको विवरण र दश लाख रुपैयाँ वा सो भन्दा बढीको कर्जा रकम कालोसूचीमा राख्न तोकिएको अवधिभित्र कर्जा सूचना केन्द्रलाई जानकारी गराउनु पर्ने व्यवस्था छ । सो बमोजिम बैंक तथा वित्तीय संस्थाहरुले कर्जा सूचना केन्द्रलार्इ उपलब्ध गराएको विवरण कै आधारमा सो केन्द्रले अन्य कुनै पनि बैंक वा वित्तीय संस्थाले माग गरेको कर्जा सूचना तयार गरी उपलब्ध गराउँछ ।

लघुवित वित्तीय संस्थाहरुको हकमा भने रु. ५ लाख वा सो भन्दा बढीको कर्जा रकम भएका ऋणीहरुलाई कालोसूचीमा राख्न पठाउने व्यवस्था छ । नियतवश कर्जा नतिर्ने ऋणीलाई भने जतिसुकै परिमाणको ऋण भए पनि कालोसूचीमा राख्न सकिन्छ ।


७१.  कस्तो अवस्थामा कर्जा सूचना लिइन्छ ?

कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कुनै पनि ग्राहकलाई कर्जा प्रवाह, पुरानो कर्जा नवीकरण, कर्जाको पुनरसंरचना वा पुनरतालिकीकरण गर्नु अघि सो ग्राहकको कर्जा सूचना कर्जा सूचना केन्द्रबाट अनिवार्य रुपमा लिनु पर्दछ ।


७२.  कर्जा सूचना भनेको के हो?

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कुनै पनि ग्राहक (व्यक्ति, फर्म, कम्पनी वा संस्था) ले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा तथा सोको अवस्थाको बारेमा कम्पनी ऐन बमोजिम स्थापित कर्जा सूचना केन्द्रबाट लिने विवरण नै कर्जा सूचना हो ।


७३.  वित्तीय स्वार्थ भन्नाले के बुझिन्छ ?

बैंक वा वित्तीय संस्थाको सञ्चालक, एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको शेयरधनी वा कार्यकारी प्रमुख वा त्यस्तो व्यक्तिको परिवार वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, कम्पनी वा संगठित संस्थाले कुनै फर्म, कम्पनी वा संगठित संस्थाको चुक्तापूँजीको दश प्रतिशत वा सोभन्दा बढी हुने गरी छुट्टाछुट्टै वा संयुक्त रुपमा शेयर खरिद गरेमा त्यस्तो व्यक्ति वा व्यक्तिहरुको दश प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व रहेको संस्थामा रहेको निजहरुको स्वार्थ भन्ने बुझिन्छ ।


७४.  पुर्व चेतावनी सङ्केत (Early Warning Signal) भनेको के हो?

बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कुनै सूचकांकमा आएको परिवर्तन, प्राप्त भएको महत्वपुर्ण सूचना, सम्बन्धित बैंकको वित्तीय स्थिति, निर्देशन पालनाको अवस्था आदिको विश्लेषण तथा अनुगमनबाट निकट भविष्यमा सम्बन्धित बैंक वा वित्तीय संस्थाले संभावित खराब अवस्था सामना गर्नु पर्ने देखिने अवस्था नै पर्व चेतावनी सङ्केत हो ।


७५.  दबाव परीक्षण (Stress Testing) गर्ने भनेको के हो ?

वर्तमानमा भन्दा फरक आर्थिक एबं वित्तीय अवस्थाको परिकल्पना गर्दा बैंक वा वित्तीय संस्थाको वित्तीय सूचकहरुमा पर्ने दबाव वा परिवर्तनको अध्ययन नै दबाब परीक्षण हो । आन्तरिक तथा वाहृय कारणले अर्थतन्त्रमा आउन सक्ने उतार चढावले कुनै पनि बैंक वा वित्तीय संस्थाको पूँजी, तरलता तथा आम्दानीमा पर्नसक्ने प्रभाव अध्ययनका लागि दबाब परीक्षण गरिन्छ ।


७६.  अनिवार्य नगद मौज्दात अनुपात (CRR) भनेको के हो?

बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप दायित्वको निश्चित प्रतिशत रकम अनिवार्य रुपमा नेपाल राष्ट्र बैंकमा खोलेको खातामा नगदै जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ । यस्तो मौज्दातलाई अनिवार्य नगद मौज्दात भनिन्छ भने अनिवार्य मौज्दातको रुपमा राष्ट्र बैंकमा रहेको खातामा राख्नु पर्ने रकम निर्धारण गर्न तोकिएको निक्षेप दायित्वको निश्चित अनुपातलाई अनिवार्य नगद मौज्दात अनुपात भनिन्छ ।


७७.  वासलात बाहिरको कारोबार भनेको के हो ?

बैंक वा वित्तीय संस्थालाई दायित्व सृजना गर्न सक्ने कारोबारहरु जस्तै प्रतीतपत्र, जमानतपत्र, स्वीकारपत्र, प्रतिबद्धता, विदेशी विनिमय सम्बन्धी स्वाप, अप्सन, अग्रिम कारोबार नै वासलात बाहिरको कारोबार हो र सो शब्दले नेपाल राष्ट्र बैंकले समय समयमा राष्ट्र बैंकले तोकिदिएका उपकरणको कारोबार समेतलाई जनाउँछ ।


७८.  जोखिम भारित सम्पत्ति (Risk Weighted Assets) भनेको के हो?

बैंक वा वित्तीय संस्थाको वासलात भित्र र वासलात बाहिरको प्रत्येक शीर्षकमा रहेको रकमलाई तोकिएको जोखिम भारले गुणन गरी निकालिएको कुल अंकनै जोखिम भारित सम्पत्ति हो ।


७९.  क्यामेल्स (CAMELS ) रेटिङ्ग भनेको के हो ?

स्थलगत निरीक्षणसम्पन्न भएपछिनिरीक्षण कार्यको निचोडको रुपमा सम्बन्धित बैंक वा वित्तीय संस्थाको पुँजीकोषको पर्याप्तता (C), सम्पत्तिको गुणस्तर (A), व्यवस्थापनको गुणस्तर (M), प्रतिफलको अवस्था (E), तरलताको अवस्था (L) तथा बजार जोखिमको संवेदनशीलता (S) लाई आधार बनाई मूल्यांकन गरिने विधि नै क्यामेल्स रेटिङ्ग हो ।


८०.  बैंक तथा वित्तीय संस्थाहरुको सुपरिवेक्षण कसरी गरिन्छ?

बैंक तथा वित्तीय संस्थाहरुको सुपरिवेक्षण स्थलगत निरीक्षण तथा गैरस्थलगत सुपरिवेक्षण गरी दुर्इ प्रकारले गरिन्छ । स्थलगत निरीक्षण विधिमा सम्बन्धित बैंक वा वित्तीय संस्थामा सुपरिवेक्षण विभागको टोली खर्टाई निरीक्षण कार्य गराइन्छ भने गैरस्थलगत सुपरिवेक्षण विधिमा बैंक वा वित्तीय संस्थाले गरेको कुनै कार्यसँग सम्बन्धित कागजात तथा सूचना सम्बन्धित सुपरिवेक्षण विभागमै मगाएर परिक्षण तथा अध्ययन गरिन्छ ।


८१.  जोखिममा आधारित सुपरिवेक्षण भनेको के होर यो किन आवश्यक छ ?

बैंक वा वित्तीय संस्थाले गरेको कार्यहरुबाट सृजना हुन सक्ने जोखिमको परिमाण, अवस्था तथा सोबाट पर्न सक्ने प्रभावको आँकलन र जोखिम व्यवस्थापनका लागि अवलम्बन गरेको अभ्यास समेतको मूल्यांकन गरी निरीक्षण टोलीले समष्टिगत स्थलगत निरीक्षण गरेको बैंक वा वित्तीय संस्थाको जोखिम विवरण (रिस्क प्रोफाइल) तयार गर्दछ । यसैलाई आधार मानी बैंक तथा वित्तीय संस्थाहरुको

समष्टिगत स्थलगत निरीक्षण गर्ने वा लक्षित स्थलगत निरीक्षण गर्ने भनी छुट्याइन्छ । यसरी सम्पन्न गर्ने निरीक्षण कार्यलाई नै जोखिममा आधारित सुपरिवेक्षण भनिन्छ ।

उच्च जोखिम विवरण भएका बैंकहरुमा सुपरिवेक्षकीय निगरानी बढाउदै न्यून जोखिम विवरण भएका बैंकहरुमा लक्षित क्षेत्रमा मात्र बढी केन्द्रीत भई सुपरिवेक्षकीय स्रोत साधनको उच्चतम सदुपयोग गर्न जोखिममा आधारित सुपरिवेक्षण आवश्यक छ ।


८२.  के सहकारी संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले अनुमति प्रदान गर्दछ ?

सहकारी संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले अनुमति प्रदान गर्दैन र यस्ता संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले नियमन तथा सुपरिवेक्षण समेत गर्दैन ।


८३.  निक्षेप सुरक्षण भनेको के हो ?

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिका नाममा खोलिएका बचत तथा मुद्दति खातामा राखेको निश्चित सीमा सम्मको रकम संस्था समस्याग्रस्त घोषणा भई फिर्ता गर्न नसकेमा उक्त सीमासम्मको निक्षेप रकम फिर्ता गर्ने गरी सुरक्षण गराउने काम नै निक्षेप सुरक्षण हो । हाल प्राकृतिक व्यक्तिका नाममा बैंक तथा वित्तीय संस्थाको बचत तथा मुद्दती खातामा रहेको ३ लाखसम्मको रकमको सुरक्षण गरिएको छ ।


८४.  वित्तीय ग्राहक संरक्षण भनेको के हो ?

नेपाल राष्ट्र बैंकबार्टर् इजाजतपत्र/अनुमतिपत्र प्राप्त संस्थाका ग्राहकहरूलाई ती संस्थाले कारोबारको क्रममा नेपाल राष्ट्र बैंकको निर्देशन, प्रचलित नियम, कानून तथा निर्देशनको परिधिभन्दा बाहिर गई ग्राहकको अहित हुने कार्य गरे/गराएको कारणले ग्राहकलाई मर्का परेकोमा त्यस्तो काम कारवाहीबाट ग्राहकहरूलाई संरक्षण गर्नु नै वित्तीय ग्राहक संरक्षण हो ।


८५.  सहुलियतपुर्ण कर्जा भनेको के हो ?

कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्घन गरी उत्पादन एवम् रोजगारी अभिवृद्घि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सिप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिलामा उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सिप र पेशालाई आधुनिकीकरण एवम् प्रवर्द्घन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि तथा भुकम्प पीडितहरुको निजी आवास निर्माणका लागि बैङ्क तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जामा नेपाल सरकारबाट ब्याज अनुदान सुविधा उपलब्ध हुने गरी प्रवाह हुने कर्जानै सहुलियतपुर्ण कर्जा हो ।


८६.  हालसालै सञ्चालनमा आएका कम्पनीले पुनरकर्जा पाउने व्यवस्था छ/छैन ?

ग्राहक ऋणीको विश्लेषण गरी प्रदान गरिने पुनरकर्जाको लागि ३ वर्षको वित्तीय विवरण अनिवार्य रहेकाले सो प्रक्रियामार्फत हालसालै सञ्चालनमा आएका कम्पनीले पुनरकर्जा पाउने व्यवस्था छैन । तर, बैंकले विशेष परिस्थिति अनुसार हालसालै सञ्चालनमा आएका कम्पनीलाई लक्षित गरी पुनरकर्जाको लागि आवेदन आहृवान गरेमा त्यस्ता कम्पनीले पुनरकर्जा प्राप्त गर्न सक्नेछन् ।


८७.  पुनरकर्जा प्राप्त गर्ने ऋणी असल कर्जामा वर्गीकृत हुन अनिवार्य छ/छैन ?

पुनरकर्जा प्राप्त गर्ने ऋणी असल कर्जामा वर्गीकृत हुन अनिवार्य छैन ।


८८.  विशेष पुनरकर्जाका लागि कस्ता कर्जाहरू योग्य मानिन्छन् ?

हाल सञ्चालनमा रहेका निर्यातजन्य उद्योग व्यवसायलाई प्रवाह भएका कर्जाहरू, न्यून आय भएका महिला, आदिवासी, जनजाति, मधेशी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरू लगायत पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा तोकिए बमोजिमका कर्जाहरू विशेष पुनरकर्जाका लागि योग्य मानिन्छन् ।


८९.  लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाका लागि कस्ता कर्जाहरू योग्य मानिन्छन् ?

सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको रु. १५ लाखसम्मका कर्जाहरू, प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहे तापनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका रु. १५ लाखसम्मका कर्जाहरू लगायतका पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा तोकिए बमोजिमका कर्जाहरू लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाका लागि योग्य हुन्छन् ।


९०.  लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाका लागि कस्ता कर्जाहरू योग्य मानिन्छन् ?

सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको रु. १५ लाखसम्मका कर्जाहरू, प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहे तापनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका रु. १५ लाखसम्मका कर्जाहरू लगायतका पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा तोकिए बमोजिमका कर्जाहरू लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाका लागि योग्य हुन्छन् ।


९१.  नेपाल राष्ट्र बैंकबाट प्रदान गरिने पुनरकर्जा कति प्रकारका हुन्छन् ?

नेपाल राष्ट्र बैंकबाट प्रदान गरिने पुनरकर्जा तीन प्रकारका हुन्छन् :

(क)   लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा,

(ख)   विशेष पुनरकर्जा र

(ग)   साधारण पुनरकर्जा


९२.  नेपाल राष्ट्र बैंकको बैंकिङ विभागबाट र्सवसाधारणले के कस्ता सुविधा पाउन सक्दछन् ?

नेपाल राष्ट्र बैंकको बैंकिङ विभागबाट र्सवसाधारणले मुख्य रूपमा भारतीय रूपैयाँ तथा विदेशी मुद्रा सटही सुविधा पाउँदछन् ।


९३.  झुत्रो नोट भन्नाले के बुझिन्छ ?

झुत्रो नोट भन्नाले च्यात्तिएको, मक्किएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेर मुद्रण उडेको वा धमिलो भएको, रंगिएको आदि नोटलाई जनाउँदछ ।


९४.  झुत्रो नोट साट्न के गर्नुपर्दछ ?

झुत्रो नोट साट्न झुत्रो नोट बैंकमा पेश गर्नुपर्दछ । यदि झुत्रो नोट धेरै मक्किएको, नोटहरू गन्न असजिलो हुने अवस्थामा रहेको वा त्यस्ता नोट सग्लो नभएमा साट्नको लागि झुत्रो नोटको पृष्ठभागमा सोही दरको सिंगो नोट बराबरको कागजको टुक्रा टाँसी झुत्रो नोट साट्ने बैंकमा पेश गर्नु पर्दछ ।


९५.  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ किन ल्याइएको हो?

बैंक तथा वित्तीय संस्था सम्बन्धी एन, २०७३ ल्याउनुको मुख्य उद्देश्य ऐनको प्रस्तावनामा दिइएको छ, जुन देहायबमोजिम छः

"मुलुकको समग्र बैंकिङ्ग तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, निक्षेपकर्ताको हकहितको संरक्षण र सम्बद्र्धन गर्न, बैंक तथा वित्तीय संस्थाहरुबीच स्वस्थ प्रतिस्पर्धाद्वारा गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग  तथा  वित्तीय  सेवा  उपलब्ध  गराई  राष्ट्रिय  अर्थतन्त्रलाई सवल एवं सुदृ ढ बनाउन तथा वित्तीय स्थायित्व कायम गर्नको लागि बैंक तथा  वित्तीय  संस्थाको संस्थापना,  सञ्चालन,  व्यवस्थापन,  नियमन,  निरीक्षण  तथा  सुपरिवेक्षण  सम्बन्धी  प्रचलित  कानूनमा  संशोधन  र  एकीकरण गरी समयानुकूल बनाउन"


९६.  बैंकहरुको आधार दर (Base Rate) भनेको के हो? यसमा के-के तत्वहरु पर्दछन् ?

कुनै पनि बैंकले कर्जा प्रवाह गर्नुअघि आफ्ना सम्पूर्ण लागतको गणना गरी आउने दर नै आधार दर हो । आधार दरमा निम्न तत्वहरु पर्दछन्:

·        कोषको लागत

·        अनिवार्य मौज्दातको लागत

·        वैधानिक तरलताको लागत

·        संचालन लागत

आधार गर गणना गर्दा नेपाल राष्ट्र बैंक, एकीकृत निर्देशन नं. १५ को अनुसूचिमा उल्लेखित "आधार दर गणना कार्यविधि" बमोजिम गर्नुपर्दछ ।


९७.  Green Banking System भन्नाले के बुझिन्छ ?

Green Banking System भन्नाले वातावरणमैत्री हिसाबले बैंकिङ अभ्यास अनुसरण गर्दै कागजी प्रकृया नभइ अनलाइन बैंकिङ अभ्यास तथा Cashless बैंकिङको अवधारणा बमोजिम कार्बन मुक्त बैंकिङ वातावरणको विकासलाई बुझाउँछ ।


९८.  KYCC भनेको के हो ? बैंकिङ क्षेत्रमा KYC भन्दा KYCC किन महत्वपूर्ण छ ?

बैंक तथा बित्तीय संस्थामा हुने अधिकांश वित्तीय कारोबारको दोहोरो पक्ष पनि हुन्छ, कुनै संस्था तथा व्यक्तिले जम्मा गरिदिएको रकम या एक खाता मार्फत अर्को खातामा जाने रकम जस्ता दुई पक्षिय (multiple conductors) भएका कारोबारको सुक्ष्म अध्ययन हुनु जरुरी हुन्छ । यस्ता वित्तीय कारोबारको बैधानीक जानकारी राखी बैंक झन सुरक्षीत बन्ने उद्देश्यले बिश्व बैंकी¨ क्षेत्रमा केवाईसीसी (KYCC) अर्थात नो योर कस्टुमरस कस्टुमर (Know your customer’s customer) को अवधारणा आएको हो । जसको कार्यन्वयनले आप्ना ग्राहकहरुको सम्बन्ध कस्ता पक्ष तथा ग्राहकहरु संग छ भन्ने कुराको जानकारी राख्दछ ।

केवाईसीसी (KYCC)  लाई नो योर कस्टुमरस केयर  (Know your customer’s care)  भनेर पनि अध्ययन गर्न सकिन्छ । निक्षेप बढाउने तथा नाफा कमाउने होडमा बित्तीय अपराधको कारोबार बैंक तथा बित्तीय संस्थाहरु भित्र छिर्दा उक्त बैंकको ख्याती जोखीम (reputational risk) मात्र बढाउदैन देशकै बित्तीय क्षेत्रमा नकारात्मक असर तथा राष्ट्रको स्वाधिनतामा समेत खलल पुर्याउँछ । आजका बित्तीय जोखीमहरु विश्वयापीकरण भएका छन, खुल्ला सिमाना तथा भुपरिबिष्ठीत राष्ट्र भएका कारण समेत नेपालमा अपराधिक बित्तीय कारोबारको जोखीमहरु बढ्ने सम्भावना हुन्छ । नेपालमा बैंक तथा बित्तीय संस्थाको नियमनकारी निकाय तथा देशको केन्द्रीय बैंकले समेत बिसेष महत्वमा साथ हेरी रहेको ग्राहक पहिचान, ग्राहक जोखीम बर्गीकरण, एएमएल, सिएफटि जस्ता कम्पालायन्सको कार्यन्वयन बिश्व बैंकि¨ क्षेत्रकै एक महत्वपुर्ण पक्ष हो जसलाई विश्व्यापी रुपमा लागु गरिएको फिनान्सीयल एक्सन टास्कको कार्यन्वयनको रुपमा समेत हेर्ने गरिन्छ । जसकारण नेपालका बैंक तथा बित्तीय संस्थाहरुले केवाईसी kyc मा मात्र होईन केवाईसीसी kycc  मा पनि ध्यान दिनु अपरिहार्य छ ।


९९.  नोट प्रयोग गर्नुअघि बैंकहरुले पालना गर्नुपर्ने मुख्य बुँदाहरु के के छन् ?

नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन बमोजिम नोट प्रयोग गर्नुअघि बैंकहरुले पालना गर्नुपर्ने मुख्य बुँदाहरु देहायबमोजिम छन् ।

१. बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटलाई एटिएम लगायतका मेसिनहरुको माध्यमबाट चलाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी नोटलाई तीन वर्गमा छुट्याउनु पर्नेछ।

२. एटिएमलगायतका मेसिनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङको स्लिप प्रयोग गर्नुपर्नेछ।

३. काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा सेतो रङ्गको स्लिप प्रयोग गर्नुपर्नेछ।

४. चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको स्लिप प्रयोग गर्नुपर्नेछ।

५. बुँदा नं २, ३, ४ मा उल्लेखित स्लिपहरुमा बैंक तथा वित्तीय संस्थाको नाम, कार्यालय शाखाको नाम, छाप, नोट गन्ती गर्ने कर्मचारीको नाम, कर्मचारीको परिचय नम्बर, सही र मिती अनिवार्यरुपमा उल्लेख गर्नुपर्ने छ ।

६. नोटमा स्टीचको प्रयोग गर्नु हुँदैन । यसमा आवश्यक्त अनुसार रबर, प्लाष्टिक पेपर बैण्ड आदि प्रयोग गर्न सकिने छ । साथै नोटमा नलेख्ने, केरमेट नगार्ने हिफाजत गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

७. झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रनेगरी रंग लागेको लेखिएको कोरिएको मेटिएको च्यातिएको वा पूर्व राजाको तस्वीर अंकित भएको नोटलाई पुन निष्काशन अयोग्य नोटकोरुपमा वर्गीकरण गर्नुपर्ने छ । र त्यस्ता नोटलाई चलनचल्तीको लागि पठाउनु हुदैन ।

चलनचल्तीमा पठाउन अयोग्य नोट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा (नोटकोष वा नेपाल राष्ट्र बैकमा पहुँच नहुने वित्तीय संस्थाहरुले)  र अन्य बैंक तथा वित्तीय संस्थाले नोटकोष वा नेपाल राष्ट्र बैकमा नै जम्मा गर्नुपर्ने छ ।

८. भुक्तनी गर्दा वा सटही सुविधा उपलब्ध गराउँदा माथि उल्लेखित बुँदा नं. २ र ३ बमोजिमका चलनचल्तीमा पठाउन योग्य नोट मात्र प्रयोग गर्नुपर्ने छ । यसरी भुक्तानी वा सटही गर्नुपूर्व नोटलाई निश्चित प्रक्रिया अपनाई जीवाणु तथा भाइरस रहित (Disinfect) गर्नुपर्नेछ ।

९. नोट राख्ने दराज, फर्निचर, भल्ट, नोट ओसारपसार गर्ने सामाग्री सफा हुनुपर्नेछ । साथै, नोट भण्डारण गर्ने ढुकुटी र कारोबार गर्ने कक्षहरुमा यथोचित प्रकाश एवम् Exhaust Fan आदिको प्रयोग गरी पर्याप्त हावाको व्यवस्था भएको हुनुपर्नेछ ।


१००.          मुद्रास्फीति के हो ? यसको प्रभाव कस्तो हुन्छ ?

सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धिको अवस्था मुद्रास्फीति हो । यसको मतलब केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । यसका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको छ र त्यस्तो वृद्धि लगातार भएको छ भने त्यस अवस्थालाई मुद्रास्फीति भनिन्छ ।


मुद्रास्फीतिका कारणः

माग प्रेरित मुद्रास्फीति (मौद्रिक आम्दानीमा वृद्धि)

मौद्रिक आम्दानीमा वृद्धि हुँदा वस्तु तथा सेवाको माग बढ्न जान्छ । तर, सो अनुपातमा उत्पादनमा वृद्धि भएन भने मुद्रास्फीति हुन्छ । माग बढेका कारण यस्तो भएकाले त्यसलाई माग प्रेरित मुद्रास्फीति भनिन्छ । सामान्य अवस्थामा निम्न कारणले यो अवस्था सिर्जना हुन्छ ।

क) केन्द्रीय बैंकले जारी गरेको प्रारम्भिक मुद्रा तथा बैंकहरूले सिर्जना गरेको शाख मुद्राको आपूर्तिमा वृद्धि ।

ख) घाटाको सरकारी वित्त व्यवस्था

ग) जनसङ्ख्या वृद्धि

घ) कर कटौती

ङ) वैदेशिक ऋण, लगानी, सहायता र विप्रेषण आयमा उच्च वृद्धि (यसबाट माथि ‘क’मा दिएको अवस्था सिर्जना हुन्छ)


लागत वृद्धि मुद्रास्फीति (उत्पादन लागतमा वृद्धि) 

उत्पादन लागत बढेका कारण वस्तु तथा सेवाको मूल्यवृद्धि हुन्छ । मूल्य बढेका कारण माग केही घटेपछि माग र आपूर्तिबीचमा असन्तुलनका कारण मूल्यवृद्धि सिर्जना भएमा त्यसलाई लागत वृद्धि मुद्रास्फीति भनिन्छ । सामान्यतया निम्न कारणले यो अवस्था सिर्जना हुन्छ :

क) पुँजी लागतमा वृद्धि

ख) कच्चापदार्थको मूल्यमा वृद्धि

ग) ब्याजदरमा वृद्धि

घ) ज्यालादरमा वृद्धि

ङ) प्राकृतिक प्रकोप आदि ।


लगानीकर्तामा मुद्रास्फीतिको प्रभाव :

मुद्रास्फीति उच्च भएमा उपभोक्ताको क्रयक्षमतामा कमी आउने भएकाले सीमित आय भएका लगानीकर्ताले ठूलो जोखिम लिन चाहँदैनन् । त्यस्तै धेरै आम्दानी भएका लगानीकर्ताले पनि मुद्रास्फीतिको अवस्थामा लगानी गर्न उत्साहित हुँदैनन् ।

मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्य कम हुँदै जाने भएकाले बचत गरेको मुद्राको मूल्यमा ह्रास आउँछ । यसले मानिसहरू बचत गर्न प्रोत्साहित नहुन सक्छन् । सामान्यतया मुद्रास्फीति उच्च हुँदा ब्याजदर पनि उच्च हुन्छ र कम हुँदा ब्याजदर पनि कम हुन्छ । तसर्थ, मुद्रास्फीतिको अवस्थामा लगानीकर्ता अपुग लगानीका स्रोत खोज्न वा नयाँ लगानी गर्न उत्साहित हुँदैनन् ।

मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्यमा ह्रास आउँछ । त्यसैले, लगानीकर्ताले सानो पोर्टफोलियो निर्माणका लागि पनि ठूलो धनराशि खर्च गर्नुपर्छ ।

सन्दर्भ सामग्रीः

१.      नेपाल राष्ट्र बैंक

२.      बैंकिङ खबर 

साभारः कृष्ण निरौला सर ।

Post a Comment

0 Comments