Header Ads Widget

6/recent/ticker-posts

नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा देखिएका समस्याहरू

नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा देखिएका समस्याहरू के के हुन् ? उल्लेख गर्नुहोस् ।

सार्वजनिक आय र व्ययको व्यवस्थित परिचालन गर्दै उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने कार्य सार्वजनिक वित्त व्यवस्थापन हो । यो सरकारको आय र व्ययको व्यवस्थापन गर्ने कार्य हो । यो वार्षिक बजेट व्यवस्थापन गर्ने कार्य पनि हो । यसअन्तर्गत राजस्व परिचालन बढाउने, खर्चलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, रोजगारी सिर्जना गर्ने, राजस्वको दिगो स्रोतको व्यवस्था गर्ने, आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने कार्यहरू पर्छन् । आर्थिक वृद्धि, आर्थिक स्थायित्व र सामाजिक न्याय कायम गर्नु यसको उद्देश्य हो । नेपालमा सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धमा संवैधानिक, कानुनी, संस्थागत व्यवस्था छ । मुलुकमा तीन तहको सरकार सञ्चालनमा छ र तीनै तहको सरकारबाट सार्वजनिक वित्त व्यवस्थापनका कार्यहरू भएका छन् र पनि यसमा विभिन्न समस्या देखिएका छन्, जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छः

– स्रोत प्राप्तिको अभाव हुनु,

– राजस्व परिचालन लक्ष्यअनुरूप सङ्कलन हुन नसक्नु,

– विदेशी अनुदानको मात्रा घट्दै जानु, ऋणको मात्रा बढ्दै जानु,

– विकास साझेदारबाट प्रतिबद्धता गरे अनुरूप सहायता प्राप्त हुन नसक्नु,

– स्वदेशी निजी लगानी बढ्न नसक्नु,

– सार्वजनिक निजी साझेदारी कार्य सुदृढ हुन नसक्नु,

– विदेशी लगानी आकर्षण गर्ने कार्य प्रभावकारी हुन नसक्नु,

– चालू खर्च बढ्दै जानु, पुँजीगत खर्च घट्दै जानु,

– विनियोजित पुँजीगत खर्च रकम खर्च गर्न नसक्नु,

– पुँजीगत खर्चलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न नसक्नु,

– कार्यान्वयन संयन्त्रको विश्लेषण गरी कार्यान्वयनयोग्य व्यावहारिक बजेट तर्जुमा गर्न नसक्नु,

– आयोजना बैङ्क प्रभावकारी हुन नसक्नु,

– पूर्वतयारीका सबै कार्य पूरा नगरी आयोजना कार्यान्वयनमा लैजानु, यसबाट आयोजना समयमै सम्पन्न हुन नसक्नु,

– राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुन नसक्नु,

– सङ्घ, प्रदेश र स्थानीय तहको बजेट प्रणाली, आयोजना व्यवस्थापन, खर्च व्यवस्थापन लगायतका विषयमा पर्याप्त समन्वय, सहकारिता तथा अन्तरनिर्भरता कायम गर्न नसक्नु,

– मध्यमकालीन खर्च संरचना, आयोजना बैङ्कलाई प्रदेश र स्थानीय तहसम्म संस्थागत गर्न नसक्नु,

– पुँजीगत खर्चलाई रोजगारी सिर्जना गर्ने उत्पादनशील क्षेत्रमा खर्च गरी दिगो राजस्व प्राप्ति गर्ने स्रोतको रूपमा विकास गर्न नसक्नु,

– सार्वजनिक आय र व्ययको व्यवस्थापन गर्ने कार्यमा वित्तीय अनुशासनको अवस्था कमजोर हुनु,

– आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, नियम, बजेट दिग्दर्शनको पूर्ण पालना नहुनु,

– अनुगमन र मूल्याङ्कन गर्ने निकायबीच कार्यगत समन्वयको अभाव हुनु ।

उपर्युक्त समस्याले गर्दा नेपालको सार्वजनिक वित्त व्यवस्थापन उपलब्धिमूलक हुन सकेको छैन । यसका लागि प्रचलित कानुनको पूर्ण परिपालना गर्ने, तीन तहका सरकारबीच पर्याप्त समन्वय, सहकार्य गर्ने, कार्यान्वयन योग्य बजेट तर्जुमा गर्ने, कार्यान्वयन संयन्त्रको क्षमता विकास गर्ने, अनुगमन र मूल्याङ्कनलाई नतिजामुखी बनाउने गर्नुपर्छ ।

Post a Comment

0 Comments