Header Ads Widget

6/recent/ticker-posts

नेपालको बीमा व्यवसायको विकासमा संलग्न निकायहरू र तिनको भूमिका

नेपालको बीमा व्यवसायको विकासमा संलग्न निकायहरू कुन कुन हुन् ? उल्लेख गर्दै ती निकायको भूमिका कस्तो हुनुपर्छ ? चर्चा गर्नुहोस् ।

तोकिएको शुल्क तिरेर एकले अर्कोलाई जोखिम सार्ने कार्य प्रक्रिया बीमा व्यवसाय हो । यो एक वित्तीय सुरक्षा हो । नेपालको वित्तीय प्रणालीको एक अभिन्न अङ्गको रूपमा रहेको बीमा व्यवसायमा हाल एक पुनर्बीमा कम्पनी, उन्नाइस जीवन बीमा कम्पनी र बीस निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । बीमा व्यवसायमा करिब एक लाख बीमा अभिकर्ता र करिब चार सय पचास जना बीमा सर्भेयर कार्यरत छन् । सरकारी र निजी क्षेत्र दुवैले बीमालाई अनिवार्य गरेको अवस्था छ । यी सबैको प्रयास स्वरूप हाल कुल जनसङ्ख्याको सत्ताइस प्रतिशत जनतामा बीमा सेवा पुगेको अवस्था छ । बीमा व्यवसायलाई व्यवस्थित गर्न कानुनी र संस्थागत व्यवस्था गरिएको छ र पनि यो क्षेत्र समस्या मुक्त हुन सकेको पाइँदैन । यसमा खासगरी बीमा व्यवसायको दायरा अझै साँघुरो हुनु, बीमासम्बन्धी जनचेतनाको स्तर न्यून हुनु, सङ्घीय संरचनाअनुसार बीमाको संस्थागत संरचना विस्तार हुन नसक्नु, बीमा दाबी भुक्तानी प्रक्रिया जटिल र ढिलो हुनु, बीमा कम्पनीहरूको सङ्ख्यात्मक वृद्धिसँगै गुणात्मक सेवा वृद्धि हुन नसक्नु, बीमा कम्पनी र तिनका शाखाहरू सहर केन्द्रित हुनु, बीमा कम्पनीहरूको सम्पत्ति र दायित्वको समय–समयमा मूल्याङ्कन गर्दै बीमितलाई विश्वास गराउने कार्य प्रभावकारी हुन नसक्नुलगायतका समस्या विद्यमान छन् । नेपालको बीमा व्यवसायको विकासमा अर्थ मन्त्रालय, बीमा समिति, बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमा हुने बीमित व्यक्ति तथा सर्वसाधारण नागरिकलगायतका निकाय र व्यक्तिहरू संलग्न छन् । बीमा व्यवसायको विकासमा यी निकायहरूको भूमिका निम्नअनुसारको हुनुपर्छ ।

अर्थ मन्त्रालयको भूमिका

अर्थ मन्त्रालय नेपालको समग्र अर्थतन्त्रको नीति निर्माणको नेतृत्वकर्ता हो । यसको बीमा व्यवसायको विकासमा बहुआयामिक भूमिका हुन्छ, जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छः

– वि.सं. २०४९ सालको बीमा ऐन र नियमावलीले बीमाका सबै पक्ष समेट्न नसकेकाले यसलाई समसामयिक सुधार गर्ने, परिमार्जन गर्ने,

– मुलुकमा लगानीको वातावरण तयार गरी बीमा व्यवसायलाई सुरक्षित प्रतिस्पर्धात्मक एवं विश्वसनीय लगानी क्षेत्रको रूपमा विकास गर्ने,

– बीमा समितिको पुनर्गठन गरी विज्ञ व्यक्तिहरूको समूह निर्माण गर्ने, बीमा समितिले सङ्घीय संरचनाबमोजिम प्रदेश र स्थानीय तहसम्म संस्थागत उपस्थिति बढाउने,

– बीमा समिति र बीमा कम्पनीहरूको कार्यकारी प्रमुख छनोटका मापदण्ड तय गरी स्वच्छ प्रतिस्पर्धाको वातावरण तयार गर्ने ।


बीमा समितिको भूमिका

बीमा समिति बीमा व्यवसायको नियमन र सुपरिवेक्षण गर्ने निकाय हो । त्यसैले बीमा व्यवसायको विकासमा यसको ठूलो भूमिका हुन्छ, जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छः

– बीमा कम्पनीहरूको नियमन र सुपरिवेक्षणका लागि सरल एवं पारदर्शी मापदण्ड तयार गर्ने,

– कार्यस्थल र गैरकार्य स्थल अनुगमन गर्ने,

– जोखिमका आधारमा निरीक्षण गर्ने,

– बीमा व्यवसायको दायरा बढाउन स्वास्थ्य बीमा, कृषि बीमालगायतका क्षेत्र विस्तार गर्ने,

– बीमा कम्पनीहरूको सङ्घीय संरचनाअनुरूप प्रदेश र स्थानीय तहसम्म सङ्ख्यात्मक र गुणात्मक उपस्थिति बढाउने,

– विद्यालय तथा क्याम्पस तहका पाठ्यक्रममा बीमा व्यवसाय समावेश गरी बीमा साक्षरता बढाउने,

– बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ताहरूको सङ्ख्या वृद्धि सम्बन्धमा पारदर्शी कार्यविधि तयार गरी लागू गर्ने,

– बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ताहरूको कामकारबाही सूक्ष्म निगरानी गर्दै गुणात्मक सेवा अभिवृद्धि गर्ने, गराउने, यिनीहरूको आचारसंहिता बनाई लागू गर्ने,

– बीमा व्यवसायसम्बन्धी नवीन अवधारणा एवं खोज गर्दै सोसम्बन्धी नीति निर्माण गर्न सरकारलाई राय, सुझाव, सल्लाह, परामर्श प्रदान गर्ने,

– आफूले गरेको काम र समग्र बीमा व्यवसायको अवस्थाका बारेमा वार्षिक प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयमा पेस गर्ने,


बीमा कम्पनीहरूको भूमिका

– बीमा कम्पनीहरूले स्वच्छ प्रतिस्पर्धा कायम गर्दै आफ्ना सम्पूर्ण कामकारबाहीमा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गरेर बीमितलाई विश्वस्त पार्ने,

– बीमा व्यवसायलाई आर्थिक सुरक्षा, बचत र लगानीको विश्वसनीय क्षेत्रको रूपमा विकास गर्ने गरी कार्य गर्ने,

– बीमा दाबी भुक्तानी प्रक्रियालाई सरल र शीघ्र बनाउने,

– बीमा सर्भेयर, बीमा अभिकर्ताहरूको सङ्ख्यात्मक वृद्धि गर्दै यिनको कामकारबाही सूक्ष्म निगरानी बढाउने,

– बीमा अभिकर्तालाई समय–समयमा तालिम प्रदान गरी ग्रामीण तहसम्म पुर्‍याउन प्रोत्साहनको व्यवस्था गर्ने,

– आफ्नो सम्पत्ति र दायित्वको समय–समयमा मूल्याङ्कन गर्दै बीमितहरूलाई जानकारी गराउने,

– बीमा समितिको निर्देशन पालना गर्दै आफूले गरेका हरेक कार्यको विवरण र प्रगति बीमा समितिमा पेस गर्ने ।

 बीमा सर्भेयरको भूमिका

– क्षतिग्रस्त सम्पत्तिको वास्तविक मूल्याङ्कन गर्ने,

– नोक्सानीको सही आकलन गर्ने, मूल्याङ्कन गर्ने,

– बीमा समिति तथा बीमा कम्पनीको निर्देशन, नीति पालना गर्ने,

– आफ्नो अनुमति–पत्र समयमै नवीकरण गर्ने,

– बीमा साक्षरता वृद्धिमा सहयोग गर्ने ।

बीमा अभिकर्ताको भूमिका

– एउटा मात्र बीमा कम्पनीको अभिकर्ता भएर काम गर्ने,

– बीमासम्बन्धी जनचेतना बढाउने,

– ग्रामीण तहमा पुगी बीमितहरूको सङ्ख्या बढाउने,

– बीमा व्यवसायमा समावेशिता कायम गर्ने,

– आफ्नो अनुमति–पत्र समयभित्रै नवीकरण गर्ने ।

बीमितको भूमिका

– आफ्नो बीमा शुल्क समयभित्रै भुक्तानी गर्ने,

– आफूले बीमा गरेको बीमा कम्पनीको वित्तीय गतिविधि, विवरण, वासलातलगायतका विषयको जानकारी राख्ने,

– अरू व्यक्तिलाई पनि बीमा गर्न प्रोत्साहित गर्ने,

सर्वसाधारण नागरिकको भूमिका

– आफ्नो र परिवारका सदस्यको बीमा गर्ने,

– पेसाअनुसार व्यापार व्यवसायको पनि बीमा गर्ने,

बीमाले व्यक्ति तथा संस्थाको आर्थिक, सामाजिक क्रियाकलापको मात्रै नभई जीवनकै संरक्षण गर्न मद्दत गर्ने भएकाले यसको व्यापक विस्तार र विकास आवश्यक छ । माथिका निकायहरूले आ–आफ्नो भूमिका निर्वाह गर्दै बीमालाई आर्थिक लगानीको भरपर्दो क्षेत्रको रूपमा विकास गर्नुपर्ने देखिन्छ । 

Post a Comment

0 Comments